स्थानिय समाचार

पाख्रीबासमा गोरु जुधाई प्रतियोगिता सञ्चालन,चुङमाङका राजकुमार गिरीको गोरु पहिलो

धनकुटा । माघ महिनाको पहिलो दिन मनाइने माघे (मकर) सङ्क्रान्ति पर्व आज देशभर मनाईएको छ ।

सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई माघे (मकर) सङ्क्रान्ति भन्ने चलन छ । माघे सक्रान्तिको अवसरमा धनकुटाको पाख्रीवास नगरपालिका ७ मुगामा गोरु जुधाई प्रतियोगिता सञ्चालन गरिएको छ ।

प्रगतिशिल सेवा समाज पाख्रीवास ७ द्धारा आयोजित प्रतियोगितामा चुङमाङका राजकुमार गिरीको गोरु पहिलो भएको छ । गत वर्ष पनि राजकुमार कै गोरुले पहिलो जित निकालेको थियो । जित सँगै ३० हजार रुपयाँ पुरस्कार प्रदान गरिएको छ ।

प्रतियोगितामा चुङमाङकै रामकुमार राईको गोरु दोश्रो भएको छ भने मुगाका धन वहादुर विश्वकर्माको गोरुले तेश्रो स्थान हासिल गरेको छ । दोश्रो र तेश्रो भएका गोरुका घरधनिलाई क्रमश १८ र ७ हजार पुरस्कार प्रदान गरिएको प्रतियोगिता आयोजक प्रगतिशिल सेवा समाजका सचिव शंकर विश्वकर्माले जानकारी दिनुभयो ।

सोही अवसरमा भएको डोरी तान्ने खेलमा पाख्रीवास ८ मुगाका अमर राईको समूह विजयी भएका छन् । यो समूहलाई २ हजार पुरस्कार प्रदान गरिएको छ । यो वर्ष पोल चढ्ने खेलमा भने कसैले हार जितको नतिजा निकाल्न सकेनन् । यी प्रतियोगिता सञ्चालनका लागि पाख्रीवास नगरपालिकाले १ लाख ५० हजार सहयोग गरेको आयोजकले जनाएको छ ।

सम्बन्धित समाचार

Back to top button