स्थानिय समाचार

पाख्रीवास नगरपालिकाको सेवा प्रवाह सम्वन्धि सार्वजनिक सुनुवाई सम्पन्न

पाख्रीवास,धनकुटा  ।  सडक निर्माण कार्य प्राविधिक मापदण्ड अनुसार नभएको गुनासो आए पुन: अनुगमन पछि मात्र आर्थिक भुक्तानी र फरफारक गर्ने व्यवस्था मिलाउने, वजार क्षेत्रमा सार्वजनिक शौचालय सुविधाका लागि घुम्ति शौचालयको व्यवस्था मिलाउन नगरपालिकाले प्रक्रिया अघि वढाउने लगायतका विभिन्न प्रतिवद्धता जाहेर गर्दै धनकुटाको पाख्रीवास नगरपालिकाको गत आर्थिक वर्षको नीति तथा कार्यक्रम अन्तर्गतको सेवा प्रवाह सम्वन्धि सार्वजनिक सुनुवाई कार्यक्रम आज सम्पन्न भएको छ ।

 

नगर प्रमुख वृष वहादुर राईको सभापतित्वमा सञ्चालित सार्वजनिक सुनुवाईमा नगर प्रमुख, सम्वन्धित शाखाका प्रमुख,प्राविधिक तथा ईञ्जिनियरहरुले वडा नं ९ र १० को खानेपानी समस्या समाधान गर्न आवश्यक योजना निर्माण गरि कार्यन्वयन गरिने, पाख्रीवास वजार क्षेत्रमा भुस्याहा कुकुरको कारण उत्पन्न समस्या समाधानका लागि त्यस्ता कुकुरलाई रेविज रोग विरुद्धको भ्याक्सिन लगाउने व्यवस्था मिलाईने, आधुनिक वस्ति निर्माणका लागि नगरपालिकाको अगुवाईमा योजना निर्माण गरि कार्यन्वयन गरिने शिक्षा क्षेत्रको गुणस्तर सुधार र शिक्षक दरवन्दिको विषयमा तत्काल सम्वन्धित पक्ष वसेर समाधानका लागि योजना निर्माण गरिने वसपार्क निर्माण सँगै सोही क्षेत्रमा सार्वजनिक शौचालय निर्माण गरिने र योजना सम्पन्न भएको जानकारी हुने वित्तिकै योजनाको अनुगमन गरि अन्तिम भूक्तानि प्रक्रिया अघि वढाउने प्रतिवद्धता जाहेर गरेका हुन् ।

ती प्रतिवद्धता अनुसारको काम भए-नभएको वारे नगरपालिकाका उपप्रमुख देवकला पौडेल तिम्सिना संयोजकत्वको तीन सदस्यिय अनुगमन समितिले अनुगम गर्ने समेत निर्णय भएको छ ।

 

सार्वजनिक सुनुवाईमा सर्वसाधारणहरुले सडक ग्राभेल कार्यको गुणस्तर,खानेपानी,सार्वजनिक शौचालयको व्यवस्था, वजार क्षेत्रमा भुस्याहा कुकुरको कारण सिंर्जित समस्या, आधुनिक वस्ति निर्माणका लागि नगरको योजना के छ ? भन्ने सहितको विषयमा राखेको जिज्ञासालाई सम्वोधन गर्दै त्यस्तो प्रतिवद्धता जाहेर गरिएको हो ।

सार्वजनिक सुनुवाईमा सर्वसाधारणले राखेको जिज्ञासालाई नगर प्रमुख राई सहित प्रमुख प्रशासकीय अधिकृत डिक वहादुर राई,सम्वन्धित शाखाका प्रमुख,नगरपालिकाका प्राविधिक तथा ईञ्जिनीयरहरुले सम्वोधन गरेका थिए । गत असार अन्तिम तिरै गर्नु पर्ने यो सार्वजनिक सुनुवाई कोरोना माहामारीको समस्याका कारण ढिलो भएको कार्यक्रममा जानकारी दिईएको छ ।

 

पाख्रीवास नगरपालिकाको आयोजना तथा सामुदायिक विकास तथा परिर्वतन केन्द्र नेपाल धनकुटाको व्यवस्थापनमा भएको कार्यक्रममा सम्पूर्ण राजनीतिक दलहरुको तर्फवाट नेकपा पाख्रीवासका अध्यक्ष शान्तिराम गौतमले मन्तव्य राख्नुभएको थियो । स्वागत मन्तव्य नगरपालिकाका उपप्रमुख देवकला पौडेल तिम्सिनाले राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन सरोज भुजेलले गर्नुभएको थियो ।

सम्बन्धित समाचार

Back to top button