साहित्य

“म वाद” : कविता

कविता

-रोशन परियार

“म वाद”

जून गाडेर उम्रिदैन
घाम रोपेर जन्मिदैन
अँध्यारोमा बाँच्नेहरु पनि उज्याला छन्
फोस्रो मुस्कानलाई ब्याजमा बाँड्दै नहिंड्नुस्
बतास समाउन मिल्दैन
पानी अठ्याउन मिल्दैन
आगो निलेर अघाउनेहरु पनि शान्त छन्
आँशुको अभिनय गरेर भ्रम बाँड्दै नहिंड्नुस्

फूल टिपे पछि फुल्दैन
माटो चिमोटे पनि दुख्दैन
भासिएर जमिनमा मुस्कुराउनेहरु पनि खुशी छन्
जिब्रोमा धार लगाएर वचनले काट्दै नहिंड्नुस्
हातले च्यातेर हिमाल फाट्दैन
नङले कोपरेर पहाड ढल्दैन
थाप्लोमा नाम्लो बोक्नेहरु पनि अग्ला छन्
आँखाले बम पड्काएर स्वभिमान ढाल्दै नहिंड्नुस्

आफू मात्रै महान् हुने भए
मरिचले चाउरिनु पर्ने थिएन
आफू मात्रै सही हुने भए
ऐनाले उल्टो देखाउने थिएन।

पाख्रीबास-४,धनकुटा

Back to top button